भक्तपुरका किसानलाई मखमलीको माला तयार पार्न भ्याईंनभ्याईं

भक्तपुर I यतिबेला भक्तपुर गुण्डुका प्रत्येक घरमा किसानहरू तिहारमा भाइटिकाको लागि आवश्यक पर्ने मखमली फूलको माला उन्न व्यस्त छन् ।
तिहार नजिकिँदै गर्दा मखमली मालाको माग बढेका कारण किसानहरू बिहानभरि मखमली टिपेर माला उन्छन् र दिउँसो धान काट्न खेततिर जान्छन् । गुण्डुका प्रत्येक घरका बारी, करेसा, आँगनका डिल र खेतहरूमा मखमली फुलेर तिहारलाई स्वागत गर्न आँतुर छ ।

फूल टिपेर माला उनेपछि उनीहरुलाई माला बोकेर बजारसम्म जानै पर्दैन । प्रतिमाला २० देखि २५ रुपैयाँमा एकमुष्ट रुपमा लिन व्यापारीहरू घरमै आइपुग्छन् । भक्तपुरका किसानका मखमली माला देशभर मात्रै पुग्दैनन्, विश्वका विभिन्न देशमा रहेका नेपालीहरूकहाँ समेत पुग्ने गर्छ ।

विगत लामो समयदेखि मखमली माला उनेर बेच्दै आउनुभएकी शर्मिला विष्ट आफूले विक्री गरेको माला देशका विभिन्न जिल्लादेखि अमेरिका, अष्ट्रेलीयलगायतका नेपालीसम्म पुग्ने बताउनुहुन्छ । गुण्डुमा मखमली फूल साउन महिनादेखि नै फूल्न थाल्छन् । किसानहरूले साउनदेखि नै उन्न थालेका माला विदेशतिर लैजाने व्यापारीले अलि कम मूल्यमा त्यतिखेरै लैजान्छन् भने बचेको माला सुकेको बाँसमा झुड्याएर वा बाकसमा प्याक गरेर राखिन्छ । २० वर्षदेखि माला विक्री गर्दै आउनुभएकी नारायणी खत्रीले दशैअघि देखि नै माला विक्री गर्दै आएको र तिहारमा मूल्य तोकेरै माला विक्री गर्ने गरेको बताउनुभयो । उहाँ सुकेको माला जहाँ जसरी राख्दा पनि हुने बताउनुहुन्छ । धेरै जमिन हुनेले वार्षिक ५ देखि ७ लाख रुपैयाँ बराबर मखमली माला विक्री गर्छन् ।

फूलको राजधानी भनेर चिनिने गुण्डुमा मखमली मात्रै हैन सयपत्री र गोदावरी फूलको पनि खेती हुने गरेको छ । फूल खेती गर्ने किसानलाई स्थानीय सरकारले पनि सहयोग गर्दै आएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटा फूल रोप्न चाहने किसानलाई वडाबाट फूलका बेर्ना, प्लास्टिक, मल र औषधि अनुदानमा दिँदै आएको बताउनुहुन्छ । भक्तपुर गुण्डुबासीले उत्पादन गरेका मखमली मालाको वार्षिक ७ देखि ८ करोडसम्मको व्यापार हुने गरेको स्थानीय बत्ताउँछन् । बिरुवा रोपेपछि खासै समय दिन नपर्ने र सजिलै आम्दानी हुने मखमली फूलले यतिखेर गुण्डुको सौन्दर्य त बढाएको छ नै आउँदै गरेको तिहारलाई पनि भव्य स्वागत गरिरहेको छ ।










प्रतिक्रिया राख्नुहोस्