तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली सुरु

रुपन्देही । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरूले लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्ति दीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभयो । 

मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने सात सदस्यीय टोलीले शान्ति दीपबाट दियो (टर्च) लिएर शुक्रबार पोखरा पुग्नेछ । खेलाडीहरूले बिहीबार बिहान शान्ति दीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी  पोखरातर्फ गएका छन् । 

लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरूलाई स्वागत गरिएको थियो । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभयो । 

नेपाल खोखो संघका महासचिव समेत रहनुभएका सदस्यसचिव शाक्यले लुम्बिनीको पवित्र भूमिबाट लिएर जाने शान्ति दीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताउनुभयो ।

ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्ति दीपबाट लगिएको दिगो पोखराका ओलम्पियनहरू माझ पुर्‍याएर ऊर्जा थप्ने विश्वास लिएको बताउनुभयो ।

खेलाडीहरूलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्त्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरूले खादा लगाएर स्वागतसहित सफलताको शुभकामना दिएका थिए ।  

नवौँ बृहत् राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विद्यागत खेलहरू भइरहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button