तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ३६ सयमा डेंगु संक्रमण, हेटौँडामा सबैभन्दा बढी

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु सङ्क्रमणको सङ्ख्या ३ हजार ६ सय ४ जना पुगेको छ । साउन १ गतेदेखि असोज २५ गते मङ्गलवारसम्मको तथ्याङ्क हेर्दा जिल्लामा २ हजार २१ जना पुरुष र एक हजार ५ सय ८३ जना महिलामा डेंगु संक्रमण देखिएको हो ।

वर्षाका कारण पनि अत्यधिक मात्रामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा देखिएको सङ्क्रमणमा पनि हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी ८३ प्रतिशत डेंगु संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । साउनदेखि मङ्गलवारसम्मको तथ्याङ्कमा सबै भन्दा बढी हेटौँडा उपमहानगरपालिकामा ३ हजार जनामा डेंगुको संक्रमण देखिएको छ । मङ्गलवार मात्रै हेटौँडा उपमहानगरपालिकामा २०३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै मकवानपुरको १० वटा स्थानीय तहमध्ये सबैभन्दा थोरै इन्द्रसरोबर गाउँपालिकामा एक जनामा संक्रमण देखिएको छ । भने, थाहा नगरपालिकामा १२८ जना, मनहरी गाउँपालिकामा ३२३ जना, मकवानपुरगढी गाउँपालिकामा ५५ जना, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा ६÷६ जना, भिमफेदी गाउँपालिकामा २८ जना बकैया गाउँपालिकामा २३ जना, राक्सीराङ गाउँपालिकामा ९ जनामा मात्र डेंगु संक्रमण देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ठेगाना नखुलेको १० जना महिला र १० जना पुरुषको हेटौँडा अस्पतालमा परिक्षण गरी डेंगु संक्रमण देखिएको तथा अन्य जिल्लाका २ जना पुरुष र ३ जना महिला गरी ५ जनामा संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ । हालसम्म जिल्लामा डेंगु सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ । कार्यालयले आगामी एक महिना डेंगुको संक्रमण फैलने खतरा कायमै रहेकोले थप सजगता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button