तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपीडितको उपचारमा स्वास्थ्य टोली परिचालन

मकवानपुर । बागमती प्रदेश सरकारले बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशअन्तर्गतका अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन थालेको छ । प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको छ ।

भक्तपुर अस्पतालबाट बाढीपीडितको उपचारका लागि डा दिवाकर सुवेदी (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा विजय भट्ट (जनरल सर्जन), डा कविकान्त चौधरी (मेडिकल अधिकृत), दिपेश खड्का (आइटी इन्जिनियर), सङ्गीता प्याकुरेल (स्टाफ नर्स) र अलिसा पोट्रेल (हेल्थ असिस्टेन्ट) सम्मिलित टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको बागमती प्रदेश मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

त्यस्तै, टोखा चण्डेश्वरी अस्पतालबाट त्रिशूलीतर्फ आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको छ । टोलीमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा लक्ष्मण खड्का, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा सिबेश बर्मा, एनेस्थेसिया सहायक सङ्गीता छत्कुली, औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि स्टोरकिपर लीला बहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धोकुमारी राना र सवारी चालक उत्तरकुमार गुरुङ रहनुभएको छ । 

वज्रवाराही अस्पतालबाट पनि आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । उक्त टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा कासिन नेपाली, मेडिकल अधिकृत डा आयुषजङ्ग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सण्डिला महत रहनुभएको छ । 

प्रदेश सरकारले अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी परिचालनको तयारी गरिरहेको जनाएको छ । साथै, विपद्को अवस्था थप जटिल हुन सक्ने भन्दै प्रदेशअन्तर्गतका सम्पूर्ण अस्पताललाई आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा जनशक्तिसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको संयोजक दाहालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button