सप्तरीमा १८ जना महिला प्रत्यक्षतर्फका उम्मेदवार
राजबिराज । सप्तरीमा १८ जना महिला प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । कुल १८१ जनाको उम्मेदवार बनेकोमा १८ जना महिलाको मनोनयन पत्र दर्ता भएको छ ।
प्रतिनिधिसभामा ५ जना महिलाले उम्मेदवारी दिँदा प्रदेश सभामा १३ जना महिलाको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभामा क्षेत्र नम्बर १ बाट टिकालक्ष्मी चौधरीले उम्मेदवारी दिनुभएको छ । उहाँले नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन पत्र दर्ता गराउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य पदका लागि क्षेत्र नम्बर २ बाट तीन जना महिलाको उम्मेदवारी परेको छ । नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिला देवी मण्डल, पिछडा वर्ग निषद दलित जनजाति पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्र कुमारी देवले उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नम्बर ४ बाट माधुरी कुमारी साहको प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी परेको छ ।
प्रदेश सभातर्फ १ को ‘क’ बाट शशीकला कुमारी चौधरी र १ को ‘ख’ सुनिता कुमारी मलाहले उम्मेदवारी दिनुभएको छ । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र मलाहले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नम्बर २ को ‘क’ बाट तीन जना महिलाको उम्मेदवारी परेको छ । चन्द्रकला सिंह र पुनिता कुमारी ठाकुरले स्वतन्त्र उम्मेदवारी दिँदा बिणा देवी यादवले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नम्बर २ को ‘ख’ बाट पनि तीन जना महिलाको उम्मेदवारी परेको छ । प्रतिमा कुमारी देवले नेपाली कांग्रेस (विपी) बाट उम्मेदवारी दिँदा शकुन्तला देवी यादव र रिंकु देवी यादवले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नम्बर ३ को ‘क’ बाट गिरिजा कुमारी चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नम्बर ३ को ‘ख’ बाट ऐलिना आचार्यले राप्रपाबाट र डोमनी देवी रामले राप्रपा नेपालबाट उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नम्बर ४ को ‘क’ बाट चिन्तादेवी सिंहले स्वतन्त्र उम्मेदवारी दिँदा क्षेत्र नम्बर ४ को ‘ख’ बाट ललिता देवी लताले स्वतन्त्र रूपमै उम्मेदवारी दिनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्