मन्त्री श्रेष्ठसँग इटालीका राजदूत लुकाको शिष्टाचार भेट

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको थियो ।
इटालियन सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्नुहुँदै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । २०७२ सालमा गएको भूकम्पबाट क्षति भएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू पुनर्निर्माणमा इटालियन सरकारबाट महत्त्वपूर्ण सहयोग प्राप्त भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
राजदूत लुकाले विश्वकै निधिका रूपमा रहेका नेपालका सम्पदाहरूको संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्धारमा इटालियन सरकार सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।
युरोपेली संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा रहेको इटालीबाट नेपालले पुरातात्त्विक सम्पदाको व्यवस्थापन तथा संरक्षणबारे शिक्षा लिन चाहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी हनुमानढोका(स्वयम्भू सम्पदा मार्ग निर्माण सुरु गरिएको जानकारी दिनुहुँदै सम्पदा मार्ग विश्व पर्यटनकै दुर्लभ संयोग रहने र पर्यटन आकर्षणका लागि समेत महत्त्वपूर्ण रहने बताउनुभयो ।
राजदूत लुकाले इटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताउनुभयो । साथै उहाँले इटालियन सरकारले आयोजना गर्ने रोम एक्स्पो २०३० परियोजनाको तयारीबारे पनि मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो ।
उहाँले २०७८ कात्तिकमा गैरआवासीय राजदूतको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।
भारतका लागि आवासीय राजदूत रहनुभएका लुका नेपालको गैरआवासीय राजदूत हुनुहुन्छ । नेपाल र इटालीबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्