तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्कीको उम्मेदवारी दर्ता

सुनसरी । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली काँग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–४ बाट सरकारका प्रवक्ता समेत रहनुभएका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरी पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

गठबन्धनबाट सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनबाट जनताको चाहना विकास र समृद्धिका लागि उम्मेदवारी दर्ता गराएको बताउनुभयो । सरकारले शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय तरिकाले निर्वाचन सम्पन्न गराउने उहाँले जानकारी दिनुभयो ।

संविधान जारी भएपछि २०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य पदमा कार्की विजयी हुनुभएको थियो ।

नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनबाट सुनसरी क्षेत्र नम्बर–४ मा जगदिश प्रसाद कुसियैतले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कुसियैत २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–४(क) बाट विजयी हुनुभएको थियो ।

यसैगरी सुनसरी क्षेत्र नम्बर–४(क) नेपाली काँग्रेसको तर्फबाट सदानन्द मण्डल र सुनसरी क्षेत्र नम्बर–४(ख) बाट हाजी इस्राइल मन्सुरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनमा सुनसरी क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा र प्रदेशसभा(क) र (ख) नेपाली काँग्रेसको भागमा परेको छ ।

सुनसरी क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभाका लागि राप्रपाबाट विद्यानन्द यादव र डाक्टर खालिद हुसैनले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button