तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जलाई हरित नगरी बनाउने अभियान सुरु

वीरगञ्ज । वीरगञ्ज महानगर पालिकाले आजदेखि महानगर क्षेत्रभरि वृहत् रुपमा वृक्षारोपण गर्ने कार्यको थालनी गरी वीरगन्जलाई हरित नगरी बनाउने अभियान सुरु गरेको छ ।

वीरगञ्ज महानगरपालिकाद्वारा नेपाल भारत सीमावर्ती मितेरी पुल परिसरमा आज एक कार्यक्रमबिच साहिब दरबारका संस्थापक देवेन्द्र सिंहद्वारा वृक्षारोपण गरी नगरलाई हरित बनाउने अभियान सुरु गरेको हो ।

अभियानको सुरुवात गर्दै वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले महानगरलाई हरित सहर बनाउन सडकका दायाँबायाँका साथै सार्वजनिक खाली स्थानमा वृक्षारोपण गरिने बताउनुभयो ।

नगर हरियाली बनाउन म्यागो स्टिक, गुल्मोर, कटहर, निम, अशोक लगायतका बिरुवा रोपिने महानगरले जनाएको छ ।

वृक्षारोपणका लागि महानगरले चालु आर्थिक वर्ष २०७९/०८० मा १ करोड रकम बिनियोजन गरेको छ । यस वर्षको बजेटले ५ हजार बिरुवा रोप्न सकिने र वन तथा वातावरण मन्त्री प्रदीप यादवले पनि वीरगञ्जमा वृक्षारोपण गर्न थप बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले नगरका ३२ वटै वडामा वृक्षारोपण गरिने महानगरले जनाएको छ ।

महानगरले हरेक वडामा वृक्षारोपणका लागि वडालाई नै बिरुवा जिम्मा लगाएको छ । वडाले आवश्यक स्थान तय गरेर बिरुवा रोप्ने छन् ।

रोपिएको बिरुवा हुर्काउनका लागि हेरचाह गर्ने जनशक्ति पनि महानगरले खटाएको छ । वृक्षारोपणको अभियानसँगै महानगरले मुख्य प्रवेशद्वार शंकराचार्य गेट पनि सफाइ गरेको छ ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद पौडेल, वडाध्यक्षहरू सञ्जु छतकुली, महबुब इलाही अन्सारी, मनोज यादव, रामकिशोर सिंह पराग लगायत महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button