काँग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीको नामावली सच्याउने

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीमा भएको त्रुटिहरू सच्याउने भएको छ ।
नेपाली काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले दिएको समयसीमा भित्र बन्द सूचीको नामावली सच्याउने जनाएको हो ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले छोटो समयमा उम्मेद्वारहरुको टुङ्गो लगाउँदा केही त्रुटि भएपनि त्यसलाई सच्याउने प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।
निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको विषयमा पार्टी भित्र असन्तुष्टि देखिएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता डा. महतले पार्टीको विधान अनुसार स्थानीय समितिहरूबाट सिफारिस भएका नामहरू केन्द्रीय समितिबाट सर्वसम्मतिले टुङ्गो लगाएको र यस विषयमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग समेत घनिभूत छलफल भएको स्पष्ट पार्नुभयो ।
प्रवक्ता डा. महतले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीको घोषणा पत्र तयार गर्न पार्टी संयन्त्र, सामाजिक सञ्जाल तथा अन्य विभिन्न माध्यमबाट सुझाव सङ्कलन भइरहेको जानकारी दिनुहुँदै आवश्यक सुझाव र सल्लाह उपलब्ध गराई सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
नेपाली काँग्रेसले संसद्को दुवै सदनबाट दुई पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट संविधान बमोजिम प्रमाणीकरण नहुनु संविधानको गम्भीर उल्लङ्घन भएको ठहर गरेको प्रवक्ता डा. महतले बताउनुभयो ।
पत्रकार सम्मेलनमा काँग्रेसका प्रवक्ता डा. महतले राष्ट्रपतिको यो कदमबाट नेपाली नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानहरू नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुनुका साथै संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यता माथि गम्भीर प्रहार भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्