जनश्रमदान प्रति लगाव हट्दै

सल्यान । विगतमा कुलो सफाइ, पाटीपौवा, निर्माण, गोरेटो बाटो मर्मत, स्कुल भवन सरसफाइ जस्ता काम जनश्रमदानबाट हुँदै आएका थिए ।
दुई दशकअघिसम्म गाउँका गोरेटा, घोरेटो बाटो, चौतारा, पानीधारा चाडपर्वको पूर्वसन्ध्यामा सफाइ गरेर चिरिच्याट्ट बनाइन्थ्यो । टोलवासीहरूलाई सफा गर्ने काम लगाइन्थ्यो । प्रत्येक घरका प्रतिनिधिहरू हँसिया, खुर्पा, झप्पल, कोदालो लिएर आउँथे । जसले गाउँले बिचको आपसी माया, सद्भाव पनि झल्किन्थ्यो । तर पछिल्लो समय मानिस दिनभर घरमा बस्छन्, कोही लुँडो खेल्छन्, कोही त्यतिकै डुली हिँड्छन् तर आफ्नै घर अगाडिको बाटो सफा गर्दैनन् ।
हरेक कार्य व्यापारीकरण हुँदै गएकाले श्रमदानप्रतिको लगाव हट्दै गएको स्थानीय आइतु रावतको भनाई छ । उहाँले भन्नु भयो गाउँका धेरै विदेशमा छन् । भएका युवाहरू पनि सामाजिक कार्य तर्फ चासो राख्दैनन् बरु मोबाइल, लुँडो खेलेर दिन कटाउँछन् ।

कामै नभएर घरमा बसी रहँदा पनि श्रमदानप्रति स्थानीयमा इच्छा नदेखिएको बनगाड कुपिण्डे नगरपालिका ९ का वडाध्यक्ष रुद्र बहादुर परियारको अनुभव छ । विगतको सहभागिता र अपनत्व बोध हराउँदै जान थालेको उहाँको भनाई छ । उहाँले भन्नुभयो अहिले त गाउँको बाटो सफा गरौँ भन्यो भने कति पैसा दिन्छन्, भन्छन् । वडा, नगरपालिकाबाट बजेट ल्याएर ल्याउनु नि भन्छन् । सार्वजनिक हितका काममा हात बढाउने समुदायको सङ्ख्या निकै कम हुँदै गइरहेको परियारको भनाई छ ।
आपसी सहयोग साटासाट तथा सद्भाव झल्काउने जनश्रमदान गर्ने मौलिकता हराउँदै जानथालेपछि गाउँका सबैको छलफल पछि पुनः जनश्रमदानलाई जोड दिन थालेको बनगाड कुपिण्डे नगरपालिका ९ का कमल डाँगीले बताउनु भयो ।
पहिला बाटो, धारा, चौतारा सफा गर्थ्यौँ, चाडपर्वका बेला गाउँघर हेरौँ हेरौँ लाग्ने खालका हुन्थ्यो तर अहिले त्यो देख्न पाइँदैन । पुरानो मौलिकता र संस्कृतिलाई संरक्षण र जर्गेना गर्न सार्वजनिक स्थलहरू सरसफाईमा जुटेको डाँगीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्