बलेफी–नौबिसे सडक नियमित सञ्चालन गर्ने व्यवस्था गर्न सभामुख सापकोटाको निर्देशन

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आज गृह जिल्ला सिन्धुपाल्चोकको “बलेफी जलबिरे तेम्वाथान“ सहाय राष्ट्रिय राजमार्ग अन्तरगत स्तरोन्नति भइरहेको बलेफी नौबिसे सडक खण्डको निरीक्षण गर्नु भएको छ ।
निरीक्षणका क्रममा उहाँले समयमै तोकिएको मापदण्ड अनुसार काम सम्पन्न गर्न र बाटो नियमित सञ्चालन गर्ने व्यवस्था गर्न सम्वद्ध पक्षलाई निर्देश गर्नुभयो ।
सडक अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, बलेफी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सडक डिभिजन कार्यालय दोलखाका इन्जिनियर, निर्माण पक्षलगायतको उपस्थिति रहेको थियो ।

सडक डिभिजन कार्यालयका इन्जिनियर पोशाक नेपालका अनुसार यो सडक खण्डको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।
सभामुख सापकोटालाई आगामी मङ्सिरसम्म बाटो ग्राभेलको काम सक्ने लक्ष्य रहेको इन्जिनियर नेपालले जानकारी गराउनुभयो ।

सो सडक खण्ड अन्तरगत टुनिबोटेदेखि जलविरेसम्म पाँच किलोमिटर बाटो स्तरोन्नतिका लागि सभामुखको पहलमा ४७ करोड रकम बिनियोजन भएकोमा सोही अनुसार डिजाइन इस्टिमेटको काम सकिएकोले ठेक्काको प्रक्रियामा रहेको पनि उहाँले जानकारी गराउनुभयो । हाल स्तरोन्नति भइरहेको सडक खण्डमा निर्माणको काम नरोकिने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्