पोखरामा प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु
कास्की । पोखरामा मङ्गलवारबाट प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ ।
गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरी तालिम आयोजना भएको हो ।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताउनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत रहनुभएका गुरुङले खेलकुद क्षेत्रमा भएका विकृति विसङ्गतिको बारेमा उजागर गर्न समेत पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी गतिविधिलाई आम सर्वसाधारणमाझ पुर्याउन सञ्चारकर्मीहरूबाट निरन्तर साथ पाउने बताउनुभयो ।
तालिममा गण्डकी प्रदेशमा कार्यरत खेल पत्रकारितामा रुचि राख्ने झण्डै ७० जना पत्रकारको सहभागिता रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार पहिलो दिन कुल १३ जना प्रशिक्षकले प्रशिक्षण दिएका छन् । पत्रकार मञ्च गण्डकीको संयोजनमा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्ने छ ।







प्रतिक्रिया राख्नुहोस्