अध्यक्ष बस्नेतको घरमा आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन नेकपा एसको माग
भक्तपुर । नेकपा एकीकृत समाजवादीले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष श्याम बस्नेतको घरमा आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी संलग्नलाई तत्काल पक्राउ गर्न गृह प्रशासनसँग माग गर्नुभएको हो ।
भदौ २५ गते राति ३ः०० बजे हतियारधारी समूहले बस्नेतको घरको मूल ढोका र चेन गेटसमेत तोडफोड गरेका थिए । घरमा बस्नेतलाई नभेटेपछि उहाँको श्रीमती र छोरामाथि आक्रमण गरिनु खेदजनक रहेको विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष बस्नेत उक्त समयमा कामको सिलसिलामा पोखरामा हुनुहुन्थ्यो ।
बस्नेतकी श्रीमती उषा कार्कीका अनुसार घरमा भाडामा बस्ने पहिलो र दोस्रो तलाका सबै ढोका बन्द गरेर उक्त समूह तेस्रो तलामा पुगेको थियो । यसपछि ढोका फुटाएर भित्र प्रवेश गरेको समूहले जेठा छोरालाई पेस्तोल देखाएर अपहरण प्रयास गरेको उषा बस्नेतले बताउनुभयो ।
घटनापछि पार्टीको जिल्ला कमिटीले सोही दिन प्रेस विज्ञप्ति जारी गरी पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल अनुसन्धान गरी अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्