अर्घाखाँचीमा काँग्रेसले एकै दिन एकै समयमा ६१ वटा वडामा कार्यक्रम गर्ने
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले ६१ वटा वडामा एकै दिन एकै समयमा कार्यक्रम गर्ने भएको छ ।
बिपी स्मृति भवन सन्धिखर्कमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालको अध्यक्षतामा बसेको बैठकले आउँदो असोज ८ गते शनिवार ६१ वटै वडामा एकै पटक अन्तरक्रिया तथा छलफल कार्यक्रम तय गरेको हो ।
नेपाली काँग्रेसको जिल्ला कार्य समिति बैठकले ६१ वडामै प्रतिनिधि समेत खटाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको तयारी स्वरूप काँग्रेसले जिल्ला प्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको कांग्रेसका जिल्ला सचिव खनालले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि पार्टीका पूर्व पदाधिकारी, पूर्व जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, क्षेत्रीय सदस्य , नगर तथा पालिकाका पदाधिकारी लगायतलाई काँग्रेसले ६१ वटै वडामा खटाएको कांग्रेसका जिल्ला सहसचिव कमल पौडेलले बताउनुभयो ।
बैठकमा जिल्ला सदस्यहरूसहित क्षेत्रीय सभापति राजेस कुमार पन्थी, हेमन्त बेल्वासे, सन्धिखर्क नगर सभापति बाबुराम भुसाल, भुमिकास्थानका सभापति खडानन्द बेल्बासे, पाणिनिका सभापति तुल्सी पौडेल लगायतको उपस्थिति रहेको कांग्रेस अर्घाखाँचीका प्रचार विभाग प्रमुख सूर्य प्रसाद भुसालले बताउनुभयो ।
असोज ८ गते शनिवार दिनको ठिक १ः०० बजे एकैसाथ ६१ वटै वडामा कार्यक्रम सुरु हुने छ ।








प्रतिक्रिया राख्नुहोस्