समानुपातिक उम्मेदवार चयन गर्न काँग्रेसले बनायो मापदण्ड
काठमाडौँ । नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको चयनका लागि मापदण्ड बनाएको छ ।
केन्द्रीय संसदीय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिकतर्फका उम्मेदवार चयनका लागि चार बुँदे आधार र मापदण्ड तय गरेको हो।

काँग्रेसले तय गरेका चार बुँदे मापदण्ड
१, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने ।
२, २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन पाउने छैन । नेपाली काँग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य पदमा पार्टीको तर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ । अतः यस अघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उम्मेदवार हुन पाउने छैन । तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ उम्मेदवार हुन सक्नेछन् ।

३, उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइनेछ ।
४, नेपाली काँग्रेसको विधानको धारा ३३ (३) मा उल्लेखित आधारलाई ध्यान दिँदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार दिने । उम्मेदवार छनौट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा संघीय कानूनले निर्दिष्ट गरेको जातीय, लैङ्गिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्