मगर सङ्ग्रहालय निर्माण
दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा मगर जातिहरूको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ ।
मगर समुदायले आफ्नो कला, संस्कृति, भाषा, धर्म र वेशभूषाको संरक्षण र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नेपाल मगर सङ्घको घोराहीस्थित कार्यालयमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

सङ्ग्रहालयमा परम्परागत धनुष, नरसिङ्गा, पञ्चेबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दिया टुक्की, ठेकी, जाबे झोला, तुला जस्ता अन्य घरेलु उत्पादनका वस्तुलगायत मगर जातिहरूले हातले बुनेका कपडाहरू राखिएको छ । त्यस्तै मगर समुदायसँग जोडिएका र प्रयोग गर्दै आएका वस्तु तथा सीप र उनीहरूसँग जोडिएका कला, संस्कृति, वेशभूषा लगायतका सामग्री सङ्ग्रहालयमा राख्न सङ्कलन गर्न पनि सुरु गरिएको छ ।
मौलिकता झल्काउने सामग्री उपलब्ध गराउन सबैमा आग्रह गरिएको मगर सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शीतलाल पुन मगरले बताउनुभयो । बाहिर जति आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने कुरा गरे पनि व्यावहारिक रूपमा प्रयोगमा ल्याउन नसक्नु मुख्य चुनौती बनेको उहाँले बताउनुभयो । आधुनिकतासँगै आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई बिर्सन नहुने उहाँको भनाइ छ ।
सङ्ग्रहालय निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले रु आठ लाख उपलब्ध गराएको छ । त्यही रकमबाट सङ्ग्रहालय निर्माण गरिएको हो । अहिले केही सजावट गरेर आंशिक रूपमा मगर संस्कृति झल्कने खालका सामग्रीहरु राखिएको नेपाल मगर सङ्घ दाङका अध्यक्ष खलु पुन मगरले बताउनुभयो । उहाँले मगर समुदायको बाहुल्य भएका रोल्पा, रुकुमजस्ता ठाउँहरूमा मगर परम्परा बोकेका सामग्रीहरूको खोजी कार्य भइरहेको बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्