राष्ट्रिय विज्ञान दिवस असोज १ गते मनाइने
काठमाडौँ । ‘विज्ञान प्रविधिमा लगानीको विस्तार: समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुसन्धान तथा नव प्रवर्तनीय खोजमूलक विषयहरूको प्रचारप्रसार गरी आम नागरिकलाई सुसूचित गराउन र प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विज्ञान दिवस मनाउने जनाएको छ ।
पत्रकार सम्मेलन मन्त्रालयकी सचिव प्रमीलादेवी बज्राचार्यले विज्ञान तथा प्रविधि क्षेत्रको प्रचारप्रसारसहित अनुसन्धानकर्तालाई प्रोत्साहित गर्न, युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण तयार गरी अभिप्रेरित गर्न र आम नागरिकलाई आफ्नो दैनिक जीवन पद्धतिमा विज्ञान प्रविधिको सहजता ल्याउन विज्ञान दिवस फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्