तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष चान्सु र तिमिल्सिना बीच भेटवार्ता

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष लि चान्सु र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बीच आज भेटघाट भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरस्थित लभि हलमा उहाँहरू बीच आज विहान (मंगलबार) भेटवार्ता भएको हो ।

अध्यक्ष लीलाई स्वागत गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले लीको नेपाल भ्रमण सुखद रहने विश्वास व्यक्त गर्नुभयो ।भेटको क्रममा अध्यक्ष लीले नेपालमा राजनीतिक स्थायित्व र समृद्धिको कामना गर्नु भयो । भेटमा अध्यक्ष द्वयले दुई देशको संसद् बीच थप सहकार्य गर्नु पर्नेमा जोड दिनुभयो ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहनुभएका लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उहाँले संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता गर्नुहुनेछ भने त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ता गर्ने कार्यसूची छ।

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची छ।

अध्यक्ष लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगसमेत भेटवार्ता गर्नुहुने छ भने भोली बुधबार अपराह्न साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुनेछ ।

अध्यक्ष ली चान्सु र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच हिजो संसद् भवनमा भेटवार्ता भएको थियो ।

प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ताका क्रममा नेपाल र चीनबीच संसदीय गतिविधि र उच्चस्तरीय भ्रमण बढाउने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

समझदारीपत्रमा आपसी विश्वास सदृढ र विकासका लागि एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्त्वपूर्ण सरोकारमा साथ दिन सहमत भएको उल्लेख छ । 

अध्यक्ष लीको सम्मानमा हिजै होटल सोल्टीमा रात्रि भोजको आयोजना गरिएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र अध्यक्ष ली सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएको हो । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button