शहरी क्षेत्रमा होमस्टे सञ्चालन गर्न सकिन्छ: मन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्न शहरी क्षेत्रमा समेत स्थानीय घरवास (होमस्टे) सञ्चालन गर्न सकिने बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नागार्जुन नगरपालिकामा आयोजना गरेको होमस्टे सञ्चालन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले शहरी क्षेत्रमा रहेका घरहरूमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिने बताउनुभयो ।
स्थानीय जीवनशैली, संस्कृति तथा कलाको प्रवर्द्धन गर्न समेत होमस्टेले सहयोग पुर्याउने मन्त्री श्रेष्ठले बताउनुभयो ।
नागार्जुन नगरपालिकाको शरणपुर क्षेत्र पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएकोले सो क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको सम्भावना उजागर गर्न सो होमस्टे तालिम आयोजना गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्