तपाईँ सुन्दै हुनुहुन्छः

टक्सारका सम्पदा संरक्षणको पखाई

भोजपुर। भोजपुरको ऐतिहासिक टक्सार बजारमा रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका मठ–मन्दिर संरक्षणको पखाईमा रहेका छन् । स्थानीयवासीको पहलमा केही मन्दिर जीर्णोद्वार भए पनि अन्य मन्दिरको अवस्था उस्तै रहेको छ । नेपालको एक मात्र टक काटनेस्थल टक्सारमा २० भन्दा बढी धार्मिकस्थल छन् ।

जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत मठमन्दिर तथा बिहार छन् । संरक्षण र रेखदेखको अभावमा यहाँका मठमन्दिरमा हिजोआज पूजाआजा गर्ने तीर्थालु भक्तजनको कमी भएको छ ।

पाटनमा रहेका मठमन्दिर जत्तिकै महत्त्व बोकेका यहाँका मठमन्दिर जीर्णोद्वार हुन नसक्दा बेवारिसे बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाइ छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिर तथा धार्मिकस्थल अहिले स्थानीयवासीको विस्थापन र संरक्षणका कारण जीर्ण बन्दै गएका हुन ।

सरोकारवाला निकायले पनि ध्यान नदिनु र स्थानीय विस्थापनको लहर बढ्न थालेपछि टक्सारका सम्पदा झन् ओझेलमा परेको शाक्यले बताउनुभयो । “धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटनको जति महत्त्व छ, भोजपुरको टक्सारमा रहेका मठमन्दिरको पनि उति नै महत्त्व छ”, शाक्यले भन्नुभयो । टक्सारका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट पनि सहयोग हुनुपर्ने टक्सारवासीको माग रहेको छ ।

इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजना निर्माणसहित अगाडि बढ्नु जरुरी देखिएको स्थानीय बिमल रणपहेलीको धारणा छ । “टक्सारबाट विस्थापन हुने क्रम रोक्दै, टक्सारको विकासका लागि एकल भन्दा पनि सामूहिक प्रयासको खाँचो छ”, रणपहेलीले भन्नुभयो ।

सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वसँग जोडिएका यहाँका मठमन्दिरको दुर्दशाप्रति सम्बन्धित स्थानीय सरोकारवाला निकायकै ध्यान पुग्न नसकेको यशोधरा माध्यमिक विद्यालय टक्सारका शिक्षक अमृका ताम्राकारको भनाइ छ । टक्सारका यस्ता ऐतिहासिक सम्पदा संरक्षणका लागि स्थानीय मात्र होइन स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समेत ध्यान दिनु जरुरी रहेको शिक्षक ताम्राकार बताउनुहुन्छ ।

भोजपुर नगरपालिकाको वडा नम्बर १२ मा टक्सार रहेको छ । यहाँको लाखे जात्रा, धातुका सामाग्री, संस्कार तथा संस्कृति अन्य ठाउँका तुलनामा फरक छन् । यस्तो बजारको संरक्षणमा वडाबाट मात्र सम्भव नहुने वडाध्यक्ष देवी कार्कीको धारणा छ । वडाध्यक्ष कार्कीले भन्नुभयो, “टक्सार विकासका लागि सबै पक्ष बसेर खाका तयार गरौँ, सोही अनुसार अगाडि बढौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button