तपाईँ सुन्दै हुनुहुन्छः

मापसे गरी ट्याक्सी चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्दा

काठमाडौँ । मदिरा सेवन गरि गएराती भाडाको ट्याक्सी चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारबाहीको लागी सम्बन्धित वृत्तहरूमा पठाएको छ । 

काठमाडौँको सुकेधाराबाट गएराती ९ बजे पक्राउ परेका बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ बर्षीय विकास सुनारलाई महाराजगंज वृत्त पठाइएको छ । यस्तै, काठमाडौँको कीर्तिपुरबाट  बा २ ज ६५४ नम्बरको ट्याक्सी चलाउँदै गरेका ललितपुर उपमहानगरपालिका ९ बस्ने ४६ बर्षीय राजेन्द्र महर्जनलाई पनि गएराती साढे ९ बजे नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुर बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार समेत गरेका थिए । 

प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको भट्टले बताउनु भयो । 

सार्वजनिक सवारी साधनका चालकहरूले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तीव्रता दिइएको समेत प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button