गाईघाट बजार क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु
उदयपुर । त्रियुगा नगरपालिकास्थित वडा नम्बर ११ र १२ को गाईघाट बजार क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको छ ।
राजधानी काठमाडौँ महानगरपालिकासहित देशका विभिन्न नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य सुरु भइरहँदा गाईघाट बजारमा पनि नक्सा पास विपरीत सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचनालाई नगरपालिकाका इञ्जिनीयरको प्रत्यक्ष उपस्थिति र नक्सा जाँच गरी हटाउने कार्य सुरु भएको हो ।
गाईघाटस्थित त्रियुगा बसपार्क क्षेत्रबाट गाईघाट डिएमगेट हुँदै त्रियुगा नमूना माविको पछाडिको सडक खण्डदेखि लोकतान्त्रिक चोकसम्मको सडक क्षेत्र र गाइघाट सेतो पुल हुँदै मदन भण्डारी मार्गअन्तर्गत पुरानो गाईघाटस्थित पिजी चोक तथा बरुवा बसपार्क क्षेत्रसम्मको झण्डै चार किलो मिटर चौडाइ र पाँच किलोमिटर लम्बाइका बजार क्षेत्रका अवैध घर टहरा संरचना हटाउन दुई हप्ता अगाडि नै सूचना जारी गरिएको उपप्रमुख महेश्वरी राईले बताउनुभयो ।
सूचना जारी गरेर दिइएको समयावधि समाप्त भइसकेका कारण संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
लामो समयदेखि गाईघाट बजारको ट्राफिक चोकदेखि पुरानो गाईघाटका पिजी चोकसम्मको दाँयाबाँया सडकखण्ड अतिक्रमण गरेर बसेका तरकारी व्यापारी तथा फलफूल व्यापारीलाई हटाउने कार्य सम्पन्न भएको बताइएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्