तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारले नयाँ उद्योग स्थापनाका लागि जग्गा लिजमा दिने 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ल्याएको उद्योग ऐनमा प्रदेशमा खोलिने उद्योगलाई लिजमा जग्गा उपलब्ध गराउने नीति ल्याएको भएपनि कार्यान्वयन गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५५ औँ वार्षिकोत्सव समारोहको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारसँग जग्गाको स्वामित्व नै नभएको कारणले नयाँ उद्योग स्थापनाका लागि जग्गा दिन नसकिएको बताउनुभयो । 

उहाँले प्रदेश सरकारले उद्योगको वातावरण सृजना गर्नका लागि उद्योगको दर्ता प्रक्रिया सरल बनाउनुका साथै विभिन्न प्रकारको करमा छुट दिने र उद्योगका लागि सोलारबाट विद्युत् उत्पादन गरेर वितरण गर्ने कार्यक्रम ल्याएर अगाडी बढे पनि उत्पादित विद्युत् वितरणमा व्यवधान भएपछि दुई सय मेगावाट सोलार ऊर्जा गर्ने  कार्यक्रम लागु गर्न नसकिएको बताउनुभयो । 

उहाँले जनकपुरधामको पर्यटन प्रवद्र्धन गर्नका लागि जनकपुरधाम विकास प्राधिकरण र हरित जनकपुरधाम बनाउनका लागि २५ करोड चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताउँदै त्यसमा उपमहानगरपालिकालाई अगाडी बढ्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले प्रदेशको राजधानी जनकपुरधाम बनाएको बताउँदै प्रदेशको राजधानी तथा नाम निर्धारण गर्नका लागि  जनकपुरधाम उद्योग वाणिज्य सङ्घको निक्कै सकारात्मक दबाब भएको कारणले सरकारले दुवै कार्यमा सफल भएको बताउनुभयो । 

उहाँले जनकपुरधामको मात्र नभै विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिरको सौन्दर्यीकरणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५ करोड रकम विनियोजन गरेको बताउँदै यसबाट जनकपुरधामको पर्यटनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले उद्योग स्थापनाका लागि वातावरण दिएको खण्डमा उद्योगीहरू नयाँ उद्योग स्थापनाका लागि तयार भएको बताउनुभयो । 

उहाँले जनकपुरधामको विकासबाट आफू निक्कै प्रभावित भएको बताउँदै यस ठाउँमा उद्योग स्थापनाका लागि महासङ्घले पहल गर्ने बताउनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधामको व्यापार व्यवसाय सहित नयाँ उद्योग स्थापनाका लागि जनकपुरधाम उपमहानगरपालिका सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनुभयो । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा भएको कार्यक्रममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिनुभएका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, जनकपुरधाममा स्वर्गद्वारको निर्माण तथा सामाजिक काममा सक्रिय पवन सिघानीया, प्रकृतिको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि गङ्गा आरतीको सुरुआत गर्ने प्रदेशसभाका सदस्य रामअशिष यादव तथा विश्व प्रसिद्ध साईकोलोजिष्ट डा. नवल पञ्जियारलाई मुख्यमन्त्री राउतले दोसल्लासहित सम्मान पत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा कोरोना महामारीको समयमा योगदान दिने संघ संस्थालाई पनि सम्मान पत्र प्रदान गरेर सम्मानित गरिएको छ । 

कार्यक्रममा प्रदेशसभाका सदस्यहरु परमेश्वर साह, रामअशिष यादव, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जनकपुरधामका पूर्व नगरप्रमुख बजरङ्ग प्रसाद साह सहितका वक्ताहरूले बोल्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button