तपाईँ सुन्दै हुनुहुन्छः

आगामी निर्वाचनमा जनताले राष्ट्रियता र विकासका पक्ष मतदान गर्छन् : अध्यक्ष ओली 

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रियता र स्वाधीनताका पक्षमा सधैँ रहेको बताउनुभएको छ । 

नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ समन्वय समितिले दुहबीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वाभिमान र विकासका पक्ष जनताले मतदान गर्ने बताउनुभयो । 

उहाँले एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने र त्यसपछि विकासको समृद्धि अगाडि बढाउने पनि बताउनुभयो । 

अध्यक्ष ओलीले एमाले जातजातिका कुरामा नअल्झिने बताउनुहुँदै सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी अवसर, बराबरी न्यायको आधारमा राष्ट्रिय एकता कायम गरी नेपाल राष्ट्रको विकास गर्ने पक्षमा रहेको बताउनुभयो । 

कार्यक्रममा सुनसरी क्षेत्र नं. ३ अन्तर्गत बर्जु, गढी, दुहबी, इटहरीका एक हजारभन्दा बढी व्यक्तिहरू विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश  गरेका छन् । उनीहरुलाई अध्यक्ष केपी ओलीलगायतका नेताहरूले अबिर तथा दोसल्ला लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button