सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक बिदा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा दिइएको छ । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
यसअघि सार्वजनिक बिदा दिने सम्बन्धी प्रदेश राजपत्रमा प्रकाशित बिदालाई जेठ १० गतेको मन्त्रीपरिषद्को बैठकबाट बिदा झिकिएको सम्बन्धी सूचना बुधबार मात्रै सार्वजनिक गरेको थियो ।
प्रदेश सरकारले सार्वजनिक बिदा कटौती गरेपछि कञ्चनपुरका बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका र भीमदत्त नगरपालिका सहित सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहहरूले स्थानीय सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेका थिए ।
सुदूरपश्चिमको मौलिक तथा महान् पर्व गौराको बिदा झिकिएकोमा चौतर्फी आलोचना भएपछि प्रदेश सरकारले बिहीबार पुनः एक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिने जनाएको छ ।
शुक्रबार एक दिनका लागि प्रदेशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णु दत्त अवस्थीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्