तपाईँ सुन्दै हुनुहुन्छः

अछामका पालिकाको विविध शीर्षकमा ३ करोड खर्च

अछाम । अछामका १० वटा पालिकाले वार्षिक रुपमा करिब ३ करोड रुपैयाँ विविध शीर्षकमा खर्च गरेका पाइएको छ। आर्थिक वर्ष २०७७/७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक २ करोड ९९ लाख २ हजार रुपैयाँ विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जिल्लाका १० वटा पालिका मध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम पञ्चदेवल विनायक नगरपालिकाले विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । साँफेबगर नगरपालिकाको ३७ लाख ३१ हजार र पन्चदेवल विनायक नगरपालिकाको १३ लाख ३३ हजार विविध शीर्षकमा खर्च भएको छ । 

त्यस्तै रामारोशन गाउँपालिकाको ३५ लाख ९७ हजार, मंगलसैन नगरपालिकाको ३३ लाख ९० हजार, चौरपाटी गाउँपालिकाको ३० लाख, ढकारी गाउँपालिकाले २५ लाख १६ हजार विविध शीर्षकमा खर्च गरेका छन् । तुर्माखाँद गाउँपालिकाले २३ लाख ३१ हजार, मेल्लेख गाउँपालिकाले २० लाख ९६ हजार, वान्नीगढी जयगढ गाउँपालिकाले १६ लाख र कमलबजार नगरपालिकाले १३ लाख ३६ हजार रुपैयाँ विविध शीर्षकमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान नगरी आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ। तर स्थानीय तहले भने उक्त परिधि भित्र नरहेर खर्च गरेको महालेखा परीक्षक प्रतिवेदनमा भनिएको छ । 

विशिष्ट व्यक्तिको भ्रमणदेखि अतिथि सत्कार, प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च, खाना खर्च, विपद् लगायत शीर्षकमा खर्च गरेको पाइएको छ । यसरी खर्च गर्ने शीर्षक नै नभएर भैपरीमा राखिने रकम  भनेको पालिकाको प्रमुखको तजबिजीमा खर्च गर्न सक्ने रकम हो । यो विविध खर्चको रकम आवश्यकता अनुसार सरकारले विभिन्न क्षेत्रमा रकमान्तर गर्ने गरेका छन् । स्थानीय तहलाई महालेखाले खर्चमा मितव्ययिता कायम गर्नको लागि सुझाव दिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button