तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्रीद्वारा चट्याङबाट घाइते भएकाको अवस्थाबारे जानकारी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दाङको घोराही उपमहानगरपालिका–१२ स्थित कुलवीर बुढाको घरमा चट्याङ पर्दा घाइते भएकाको अवस्थाबारे जानकारी लिनुभएको छ । 

उहाँले आज दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्लाका प्रहरी उपरीक्षक वीरबहादुर ओलीलाई टेलिफोन गरी घाइतेको अवस्थाबारे जानकारी लिनुभएको हो । 

घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिँदै गृहमन्त्री खाणले जिल्लामा रहेको स्रोत र साधनबाट सम्भव नहुने भए केन्द्रमा जानकारी गराउन भन्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  

चट्याङ लागेर १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मनिषा शाहको मृत्यु भएको दाङका प्रहरी उपरीक्षक ओलीले जानकारी दिनुभएको छ । चट्याङ लागेर नौ जना घाइते भएकामा पाँच जनाको सामान्य र अन्यको अवस्था मध्यम रहेको पनि उहाँले जानकारी दिनुभयो । 

घाइते हुनेमा १५ वर्षीय निरुता शाह, जयन्ती घर्ती, १६ वर्षकी यामुसरी थापा र ३८ वर्षकी यमकुमारी शाहको अवस्था मध्यम रहेको जनाइएको छ । घटना सडक मार्ग विहीन विकट क्षेत्रमा भएको जनाइएको छ । 

त्यस्तै घटनामा १४ वर्षीय अञ्जना घर्ती, ३८ वर्षीय बेलकुमारी घर्ती १५ वर्षकी सावित्रा वली, ४२ वर्षकी मनकुमारी वली र ४ वर्षीया जेनिशा शाह सामान्य घाइते भएका जनाइएको छ । उहाँहरूलाई यथाशक्य उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button