स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान
काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जनालाई जेल चलान गरेको छ ।
प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका– ६ भृकुटी चोकमा स्रोत नखुलेको रु ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को कसुर मुद्दामा’ कारागार चलान गरेको जानकारी दिनुभयो ।
पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल, रु ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो ।
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ
नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइवर ब्यूरो भोटाहिटीको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमार्फत साथी बनाइ विभिन्न लोभलालच देखाइ पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमार्फत प्रसारण गरिदिने भनी मानसिक यातना र दुःख हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच÷पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्