हरितालिका तीज गर्ने व्रती महिलाहरूको जनकपुरधामको शिव मन्दिरमा भिड

जनकपुरधाम । हरितालिका तीज व्रत गर्ने महिलाहरू जनकपुरधामको विभिन्न प्राचीन शिवालयहरूमा आज बिहान देखि पूजा अर्चना गरिरहेका छन् । जनकपुरधामको शिव चौकमा रहेको शिव मन्दिरमा बिहान देखि ब्रति महिलाहरू भगवानको शिवको पूजा आराधना गरिराख्नु भएको छ ।
यसका साथै जनकपुरधामको भूतनाथ मन्दिर, जनकपुरधामको कपिलेश्वरनाथ, कुपेश्वरनाथ, धनुषाको क्षिरेश्वरनाथ, धनुषाधाम, महोत्तरीको जलेश्वरनाथ तथा महोत्तरीकै टुटेश्वरनाथ सहितका शिव मन्दिरहरूमा बिहान देखि नै पूजा अर्चना गरिरहेका छन् ।
यस वर्षमा महिलाहरू पतिको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना सहित निराहार रहेर शिवको उपासना तथा पूजा अर्चना गर्ने चलन रहेको छ । यसै गरि कुमारी कन्याले पनि भगवान् शिवको उपासना गरेर पूजा गर्ने चलन पनि रहेको छ । कुमारी कन्याले सुयोग्य वरको कामना सहित हरितालिका तीजको व्रत गर्ने गरेका छन् ।
विगत केही वर्ष यता मिथिलामा पनि तीज पर्व मनाउने महिलाहरूको सङ्ख्यामा वृद्धि हुन थालेको छ । पहिला पहिला न्यून महिलाले हरितालिका तीज गर्ने गरेकोमा पछिल्लो केही वर्ष यता तीज मनाउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
महिलाहरू बिहान देखि धार्मिक तथा ऐतिहासिक महत्त्वको नदी तलाउ एवं पोखरीहरूमा स्नान गरेर नयाँ रातो, हरियो तथा पहेँलो साडी, चुरा तथा पोते सहितका गरगहनाहरू लगाएर भगवान् शिव मन्दिरहरूमा भेला भएर शिव कथा पनि सुन्ने गरेका छन् ।
जनकपुरधामको गंगासागर क्षेत्रमा महिलाहरूको अत्यधिक भिड रहेको छ । गंगासागरमा निर्माण गरिइएको वर्सातिमा महिलाहरूले पण्डित पुरोहित राखेर भगवान् शिवको व्रत कथा सुनिरहेका छन् । गए रातिबाट शुरु भएको तीज व्रत भोलि बिहानसम्म चल्नेछ ।
निक्कै कठोर व्रतको रुपमा हरितालिका तीज पर्व रहेको छ । जनकपुरधाममा रहेको पहाडी समुदायका महिलाहरू पनि मधेशी समुदायका महिलाहरूसँग मिलेर तीज मनाइरहेका छन् । जनकपुरधामको गणेश युवा कमिटीले तीज विशेष कार्यक्रम पनि आयोजना गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्