बन्दको निहुँमा चालक र सहचालकद्वारा टिप्परमा आगो लगाएको खुलासा

दाङ । नेपाल बन्दको मौका छोपेर चालक र सहचालकले नै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चालक राप्ती गाउँपालिका–८ पिपरी निवासी ३२ वर्षीय अरुण चौधरी र सह–चालक गढवा गाउँपालिका–७ चन्दनपुर निवासी १७ बर्षीय आकाश चौधरीले आफैले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताउनुभयो ।
बन्दको मौका छोपेर लाभ उठाउने गरी आफै आगजनी गरेको खुल्यो उहाँले भन्नुभयो बिमा दाबी गर्न आफैले आगो लगाए । घटना शङ्कास्पद भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
घोराही–लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी शङ्कास्पद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो । दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
टिप्पर चालकले पाँच(छ जनाको समूहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए । यता नेकपा माओवादी दाङका जिल्ला सेक्रेटरी प्रदीप वलिले टिप्पर आगजनीमा आफूहरूको संलग्नता नरहेको बताउनुभयो । बिहान ५ बजेबाट, बेलुका ५ बजे सम्म बन्द भनेका छौँ । त्यो घटना पाँच बजे अघिको देखिन्छ उहाँले भन्नुभयो आगजनीमा उत्रिने भन्ने नीति नै छैन ।








प्रतिक्रिया राख्नुहोस्