चार वर्षदेखि बन्द रहेको नेपाल–चीन सिमाना ओलाङचुङगोला नाका खुलाउन माग
ताप्लेजुङ । कोभिड–१९ को महामारी फैलिएसँगै विगत चार वर्षदेखि बन्द रहेको नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउन पालिकाले माग गरेको छ ।
नाका बन्द भएपछि स्थानीय आर्थिक सङ्कटमा परी जीविकोपार्जनमा समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सिर्जना भएको, महँगी चरम रुपमा बढेको भन्दै फक्तालुङ गाउँपालिकाले नाका खुल्ला गरिदिन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बूले ओलाङचुङगोला, याङमा, घुन्सा र फलेका बासिन्दाको मुख्य आम्दानीको स्रोत जडीबुटी, गलैँचा र पशुचौपाया निर्यात गर्न नपाउँदा स्थानीयलाई समस्या भएको बताउनुभयो । सीमावर्ती हिमाली बस्ती ओलाङचुङगोला, याङमा, फले र घुन्सावासिको मुख्य पेसाको रुपमा पशुपालन, जडीबुटी सङ्कलन, गलैँचा उत्पादन रहेको र तिब्बत तर्फमात्र निर्यात हुँदै आएकोमा विगत चार वर्ष देखि नाका बन्द हुँदा स्थानीयलाई समस्या भएको हो ।
खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरू तिब्बत माथि नै आत्मनिर्भर रहेको उल्लेख गर्दै पत्रमा नाका बन्द भएका कारण सडक सञ्जाल समेत जोडिन नसकेको अवस्थामा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्दा तीन दोब्बर बढी मूल्य परेको दाबी गरिएको छ । बिरामी तथा आपत्कालीन अवस्थामा तीन दिन पैदलयात्रा गर्नु परेकाले समस्या जटिल रहेको लिम्बूले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्