तपाईँ सुन्दै हुनुहुन्छः

उजुरी पेटिकामा पर्दैनन् सेवाग्राहीका गुनासो

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिका कार्यालयको प्रवेशद्वार नजिकै गुनासो पेटिका झुन्ड्याइएको छ । 

जिल्लामै सबैभन्दा धेरै जनसम्पर्क हुने उक्त कार्यालयले गुनासो सुन्न सबैले देख्ने ठाउँमा उक्त पेटिका राखे पनि अहिलेसम्म एक दुई वटा मात्रै गुनासो परेका छन् ।

नगरपालिकाका सूचना अधिकारी कुमार कन्चन जिसी त्यहाँ कार्यरत रहेको वर्षौं भयो । उहाँका अनुसार पछिल्लो समयमा उजुरी÷सुझाव पेटिकामा कमै मात्रामा गुनासो पर्ने गरेका छन् ।

मालपोत कार्यालय तनहुँ जिल्लाको अत्यधिक चाप हुने कार्यालय हो । उक्त कार्यालयमा दिनहुँ ठूलो सङ्ख्याका सेवाग्राहीले सेवा लिन्छन् । 

कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले यस बीचमा आफ्नो कार्यालयको पेटिकामा एउटा पनि गुनासो हेर्न पाउनुभएको छैन । पौडेलका अनुसार त्यसअघि पनि उजुरी वा गुनासो परेको अभिलेख भेटिँदैन ।

घरेलु तथा साना उद्योग कार्यालय तनहुँका वाणिज्य प्रशासन फाट प्रमुख रवि अधिकारीका अनुसार कहिलेकाहीँ गुनासो पर्ने गरेको छ । उहाँले भन्नुभयो “धेरै जसो पर्दैन, कहिले खालि कागज मात्रै हुन्छ ।”

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार धेरै समय अघि एउटा परेको थियो त्यो उजुरी तत्काल समाधान गर्‍यौँ । उहाँले अगाडी थप्नुभयो “अहिले उजुरी सिँधै फोन अथवा लिखित भएपनि सिँधै कार्यालय मै दिने गरेका छन् ।”

गुनासो पेटिका रहेता पनि सरकारी तथा गैरसरकारी कार्यालय र बैङ्क तथा वित्तीय संस्थाहरूमा राखिएका ती गुनासो पेटिकाहरू खालि नै हुन्छन् ।

कार्यालयका भित्तामा झुन्ड्याएका ती पेटिकाहरूको नाम पनि एकनास छैनन् । कसैले उजुरी पेटिका लेखेका छन् त कसैले गुनासो पेटिका त कसैले उजुरी, गुनासो र सुझाव पेटिका लेखेका छन् । जिल्लाका केही कार्यालयले भने केही नलेखेर पेटिका मात्रै झुन्ड्याएका छन् ।

त्यसरी गुनासो पेटिकाहरू वर्षौँ रित्तो हुनुमा ती कार्यालयहरूको आ–आफ्नै तर्क छन् । केही कार्यालयहरू आफूहरू जनतामाझ कार्यक्रम लिएर जाने भएकाले अधिकांश गुनासाहरू स्थलगत रूपमै समाधान हुने भएकाले गुनासो पेटिकाहरू रित्ता भएको प्रतिक्रिया दिने गर्दछन् । केही कार्यालय प्रमुख भने गुनासो फोन तथा इमेलबाट प्राप्त हुने बताउँछन् ।

तनहुँका जनता अत्यन्तै सजिला भएका कारण कार्यालयमा झुन्डिएका गुनासो पेटिकाहरू खाली हुने गरेको जिल्ला समन्वय समिति तनहुँका जिल्ला समन्वय अधिकारी थमन सिंह थापाको भनाइ छ ।

नागरिकको नजरमा भने कार्यालयमा झुन्ड्याइएका गुनासो पेटिका वर्षौँ रित्तो हुनुमा सेवाग्राही र सेवा प्रदायक दुवैको कमजोरी देख्छन् । नागरिकमा चेतनाको कमी तथा सेवा प्रदायकहरूमा नागरिकप्रति उत्तरदायी नहुनुको परिणाम रित्ता गुनासो पेटिका भएको उहाँहरूको भनाइ छ ।

कसरी उजुरी गर्ने, के विषयमा उजुरी गर्ने भन्ने कुरा धेरै सेवाग्राहीलाई थाहा नभएको गैरसरकारी संस्था संघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराई बताउनुहुन्छ । 

“पेटिकामा खसालिएका उजुरी र गुनासाहरू सम्बोधन हुने कुरामा नागरिकहरू विश्वस्त नभएका कारण गुनासो पेटिकाहरू वर्षौँसम्म रित्ता भएका हुन”, भट्टराईले थप्नुभयो ।

कार्यालय प्रमुखहरूले सेवाग्राहीलाई उजुरी पेटिकामा किन र केका लागि भन्ने कुरा सिकाउनु पर्ने उहाँको सुझाव छ । 

उजुरी पेटिकाको महत्त्व अहिले हराउन थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button