तपाईँ सुन्दै हुनुहुन्छः

मेची अस्पतालको सुधारका लागि राजनीतिक दलहरूको प्रतिबद्धता

भद्रपुर, झापा । झापाको भद्रपुरस्थित मेची अस्पतालको सुधारका लागि यहाँका राजनीतिक दलहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अस्पतालका विविध क्षेत्रमा भएका समस्याको सुधारका लागि मेची प्रादेशिक अस्पताल सुधार समितिले बुधवार आयोजना गरेको अन्तरक्रियामा यहाँका राजनीतिक दलका प्रतिनिधिहरूले अस्पताल सुधारका लागि सबै प्रकारको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

दलका प्रतिनिधिहरूले सुधार समितिले राम्रो कामको थालनी गरेको र सो कार्यमा आफूहरूको पूर्ण समर्थन हुने जनाएका थिए । अन्तरक्रियामा अस्पताल सुधारका लागि राजनीतिक दलको धारणा, सुधार समितिलाई हेर्ने दृष्टिकोण, सुधार र स्तरोन्नति लगायतका विषयमा छलफल गरिएको थियो ।

समितिका अध्यक्ष दिपक तिम्सिनाले सुधार समितिले हालसम्म गरेका कामकारबाहीका बारे जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा नेपाली काँग्रेसबाट भक्त खवास, नेकपा एमालेबाट असारु राजवंशी, नेकपा माओवादी केन्द्रबाट राजु आचार्य (अग्नि), डिल्ली घिमिरे (हिक्मत), शिवकुमार राजभण्डारी, जनता समाजवादी पार्टीबाट नीरबहादुर राई, नेकपा एकीकृत समाजवादीबाट देवी अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सागर घिमिरेको सहभागिता थियो ।

सुधार समितिले अस्पतालको सुधारका लागि ३६ बुँदे मागसहित ज्ञापनपत्र अस्पताल प्रशासन, व्यवस्थापन समिति, भद्रपुर नगरपालिका, प्रदेश नं. १ को स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button