‘नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा कामदार ठगिँदै’
विराटनगर । वैदेशिक रोजगारमा जानेहरूका लागी बनेका नीति तथा कानुन प्रभावकारी कार्यान्वयन नहुँदा कामदारहरू ठगिने गरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

मानव अधिकारका लागी जनमञ्च पिपुल फोरमले विराटनगरमा आज वैदेशिक रोजगार कानुनसम्बन्धी सञ्चारकर्मीहरू सँगको अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले सुरक्षित वैदेशिक रोजगारका लागी सञ्चारकर्मीको भूमिका अहम् हुने बताउनुभयो ।
खाडी राष्ट्रमा जाने कामदारका लागी सरकारले १० हजार तथा शून्य शुल्क लाग्ने व्यवस्था गरेकाले सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्दा त्यस्ता विषयलाई प्राथमिकता दिनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
पिपुल फोरमका संस्थापन अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सोम लुइँटेलले आप्रवासी कामदारको अवस्था र मानव बेचबिखन सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्नुहुँदै वैदेशिक रोजगारकाको कानुनी पक्षबारे जानकारी गराउनुभएको थियो ।
पिपुल फोरमकी कानुन अधिकृत एवं अधिवक्ता कला त्रितालले वैदेशिक रोजगारीमा जानेहरू ठगीमा तथा अन्य समस्यामा परेकाहरूको न्यायका लागी संस्थाले काम गर्दै आएको बताउँदै त्यस्ता केही समस्या भए विराटनगर स्थित आफ्नो कार्यालयमा आएर उजुरी दिन आग्रह गर्नुभयो । गत आर्थिक वर्ष देशभरका २६ हजार दुई सय जनालाई आफ्नो संस्थाले निःशुल्क कानुनी साहयता प्रदान गरेको उहाँको भनाई थियो ।
संस्थाले दिएको जानकारी अनुसार बाह्य मुलुकमा ६० लाख भन्दा बढी नेपाली कामदार रहेका छन् । त्यसबाट गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ९ खर्व ४ अर्ब विप्रेषण प्राप्त भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा नेपालमा ९ खर्व ६१ अर्ब विप्रेषण नेपाल भित्रिएको सो अवसरमा जानकारी गराएको थियो । नेपालको कुल गार्हस्थ्य उत्पादन जिडिपीमा विप्रेषणका २५ प्रतिशत हिस्सा रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्