तपाईँ सुन्दै हुनुहुन्छः

‘युवाहरूलाई स्वदेशमै स्वरोजगार र उद्यमशील बनाउनु जरुरी’

काठमाडौँ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय स्रोत साधनको प्रयोगमा जोड दिँदै युवाहरूलाई स्वदेशमै स्वरोजगार र उद्यमशील बनाउनु जरुरी रहेको बताउनुभएको छ ।

आइडिया स्टुडियो संस्थाले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष बस्नेतले संस्थाले चालेको कदमबाट अहिले देशका केही नबिनतम् सोच भएका युवाहरू उद्यमी र व्यवसायी बन्दै गएकोमा खुशी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा विश्व वन्यजन्तु कोषका देशीय प्रतिनिधि डा.घनश्याम गुरुङले नयाँ नयाँ सोचहरूको प्रवर्द्धनबाट  युवाहरूलाई स्वरोजगार बनाउन सके  मुलुकको आर्थिक समृद्धिमा मद्दत पुग्ने बताउनुभयो ।

आइडिया स्टुडियो संस्थाका कायकारी अध्यक्ष डा.छिरिङ लामाले नबीनतम् सोच भएका युवालाई उद्यमी र व्यवसायी बनाउन आइडिया स्टुडियो संस्थाले सहजीकरण गर्दै आएको बताउनुभयो ।

आइडिया स्टुडियो नामक संस्थाले युवाहरूलाई आफूले सोचेको र परिकल्पना गरेको व्यवसाय सञ्चालन गर्न सारथिको रुपमा काम गर्दै आएको छ ।

आइडिया स्टुडियोले यो वर्ष पनि आफूसँग भएको नयाँ सोच र परिकल्पना पेश गर्न युवाहरूसँग आवेदन मागेको छ ।

विभिन्न पेशा वा व्यवसायको योजना हुने व्यक्तिले यसमा सहभागिता जनाउन सक्नेछन् ।

संस्थाको यस कार्यबाट हालसम्म २५ सयभन्दा बढी नव उद्यमी जोडिइसकेका छन् भने एक सयभन्दा बढी प्रतिस्पर्धीले सोचबाट उद्यमको यात्रा तय गरिसकेको सो संस्थाले जनाएको छ ।

आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । 

नेपाली समाजको रूपान्तरण र व्यवसायीकताको प्रवर्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडिया सहित शो उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।

 वर्तमान युग र समय सापेक्ष समस्या र अवसरहरू सम्बन्धित नवीनतम तथा दिगो समाधान सहितका आइडिया भएका विद्यार्थीहरूले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् । 

कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरू मध्यबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्बन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक सञ्जाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । 

कलेज आइडिया हन्ट २०२२ मा सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरूले २०७९ भदौ १९ गते सम्म आवेदन दिइसक्नुपर्नेछ ।

विद्यार्थीहरूले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि  http://ideastudio.org.np/submit-college-idea-hunt/  मा गएर हेर्न सक्ने छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button