तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा १२ प्रतिशत उमेर नपुग्दै आमा 

बर्दिया । नेपालमा बिस वर्ष पुरा भएपछि मात्र विवाह गर्ने कानूनी प्रावधान रहेपनि बर्दिया जिल्लामा १२.८ प्रतिशत महिला २० बर्ष उमेर नपुग्दै आमा बन्ने गरेका छन् । बर्दियाका स्वास्थ्य संस्थामा गएर  पहिलो पटक गर्भजाँच गराएको तथ्याङ्क अनुसार उमेर नपुग्दै गर्भधारण गरि आमा बनेको पाइएको हो । 

पहिलो गर्भजाँच गराएको तीन वर्षको तथ्याङ्क हेर्दा २० वर्ष मुनि आमा बन्नेको सङ्ख्या भने कम हुँदै गएको देखिन्छ । तीन आर्थिक बर्ष मध्य पहिलो आर्थिकमा १५.७४ प्रतिशत, दोस्रो आर्थिक वर्षमा १४.२३ प्रतिशत र तेस्रो तथा गत आर्थिक वर्षमा १२.८प्रतिशतले २० बर्ष नपुग्दै गर्भधारण गरि आमा बनेका छन् । 

आर्थिक बर्ष २०७८/०७९ मा बर्दियाका स्वास्थ्य संस्थामा गएर ६ हजार ९ सय २१ जनाले पहिलो गर्भजाँच गराई सेवा लिएका मध्य २० बर्ष नहुँदै गर्भधारण गर्नेको सङ्ख्या ८ सय ८६ जना (१२.८प्रतिशत) रहेको छ । बिस वर्ष पुरा गरेर गर्भधारण गर्नेको सङ्ख्या  भने ६ हजार ३५ जना रहेको छ ।  

आर्थिक बर्ष २०७७/०७८ मा स्वास्थ्य संस्थामा गएर ७ हजार जनाले पहिलो गर्भजाँचको सेवा लिएको  मध्य २० बर्ष नहुँदै गर्भधारण गर्नेको सङ्ख्या ९ सय ९६ जना (१४.२३ प्रतिशत) रहेको छ । बिस वर्ष पुरा गरेर गर्भधारण गर्नेको सङ्ख्या भने ६ हजार ४ जना रहेका छ । 

आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य संस्थामा गएर ७ हजार ९ सय १ जनाले पहिलो गर्भजाँच गराएर सेवा लिएको मध्य २० वर्ष नपुग्दै गर्भधारण गर्नेको सङ्ख्या १ हजार २ सय ४४ जनाले (१५.७४ प्रतिशत) रहेको छ । बिस वर्ष पुरा गरेर गर्भधारण गर्नेको सङ्ख्या भने ६ हजार ६ सय ५७ जना रहेको छ ।  

उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या अनुसार बर्दियामा बालविवाह भइरहेको छ भन्ने बुझाउँछ । बर्दियामा कति प्रतिशत बालविवाह भइरहेको छ भन्ने आधिकारिक कुनै तथ्याङ्क नभएपनि बालविवाह न्यूनीकरण सम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरूको २५ प्रतिशत भन्दा बढी रहेको दाबी छ । 

बर्दियामा शिशु जन्मदर ०.७४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button