जुम्लाबाट पहिलो पटक सेनाको हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार

जुम्ला । जुम्लाबाट पहिलो पटक नेपाली सेनाको हेलिकप्टर मार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत कार्मारोङ गाउँपालिका – ३ पाखा मुगुकी २८ वर्षीया मिन्दिक लामाको टाउकोमा रगत जमेपछि सोमबार जुम्लाबाट सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना पश्चात् जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गर्नु परेको पहिलो हो ।
टाउकोमा रगत जमेको बिरामीको (न्युरो सर्जरी) उपचार जुम्लामा हाल नभएकोले तत्काल उद्धार गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजीव शाहले बताउनुभयो ।
उहाँका अनुसार चार दिन अघि सुत्केरी हुन अस्पतालमा आएकी लामाको टाउकोमा रगत जमेको छ । उहाँले भन्नुभयो “यस्तो अवस्थामा तत्काल न्यूरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्यूरो सम्बन्धी प्रतिष्ठानमा शल्यक्रिया नहुने भएकोले काठमाडौँमा रिफर गर्नु परेको हो । बच्चाको अवस्था सामान्य रहेको छ ।”
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ स्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले बताउनुभयो
।
नन्दावक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लाबाट अहिले सम्म सुत्केरी उद्धार गर्नु नपरेको र हाल न्युरो सम्बन्धी उपचार नभएकोले जटिल केश भएका कारण उद्धार गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्