तपाईँ सुन्दै हुनुहुन्छः

सेवाग्राही बढेपछि घुम्ती शिविर एक दिन थप

अछाम । अछाम जिल्लाको पूर्वी क्षेत्रमा पर्ने तुर्माखाँद गाउँपालिकामा जारी घुम्ती शिविर १ दिन थप गरिएको छ । सेवाग्राहीको चाप बढेको र शिविर छोट्टाउँदा लाभग्राही सेवाबाट वञ्चित हुने भएपछि शिविरको समय १ दिन थप गरिएको हो ।

गत शुक्रवारदेखि सुरु भएको शिविर आइतबार सकिने योजना थियो । सेवाग्राहीको चापलाई मध्यनजर गरि शिविर सोमबारसम्म थप गरिएको गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताउनुभयो ।

जिल्ला सदरमुकाम मङ्गलसेनबाट १ दिन बढीको पैदल दूरीमा पर्ने तुर्माखाँदमा नागरिकलाई घरदैलोमै सेवा दिन शिविर सञ्चालन गरिएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाउँपालिकाको केन्द्र तुर्माखाँदमा शिविर भइरहेको छ ।

शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकता हराएका तथा नष्ट भएकाको लागि प्रतिलिपि प्रदान, फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता लगायतका सेवा प्रदान भइरहेका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button