भद्रपुर भन्सारको राजश्व सङ्कलन लक्ष्यभन्दा आधा कम
भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुरमा रहेको भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यको तुलनामा निकै कम राजश्व सङ्कलन गरेको छ ।
भन्सार विभागले ०७८÷०७९ मा ४२ करोड ५८ लाख ३३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा भद्रपुर भन्सारले २४ करोड १३ लाख ३६ हजार ६०४ रुपैयाँ मात्र सङ्कलन गर्न सकेको छ । यो लक्ष्यको ५६.६७ प्रतिशत मात्र हो ।
कार्यालयले भन्सार महसुलबापत दुई करोड ७५ लाख ८८ हजार, मूल्य अभिवृद्धि कर बापत १२ करोड १२ लाख १२ हजार, अन्त शुल्कमार्फत ८५ लाख ७० हजार, कृषि सुधार शुल्कबापत एक करोड ३२ लाख ४८ हजार, भन्सारसम्बन्धी अन्य आय ७७ लाख १० हजार, स्वास्थ्य जोखिम करबापत पाँच हजार राजश्व असुली गरेको भन्सार प्रमुख रामेश्वरप्रसाद मिश्रले जानकारी दिनुभयो ।
सरकारले केही वस्तुको आयातमा कडाइ र प्रतीत पत्र (एलसी) खोल्नुपर्ने नियम लगाएपछि भद्रपुर भन्सारबाट सामान आयातमा ठूलो गिरावट आएको र त्यसको असर राजश्व असुलीमा परेको मिश्रले बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कले २०७८ माघ २६ गते सूचना प्रकाशन गर्दै ४७ प्रकारका हार्मोनिक कोड भएका वस्तुहरूमा अनिवार्य रुपमा मार्जिन लिई प्रतीत पत्रमार्फत मात्र आयात गर्न सकिने व्यवस्था लागू गरेको छ । सो व्यवस्था लागू भएकै महिनादेखि भन्सारको राजश्व ओरालो लाग्न थालेको तथ्याङ्कले देखाएको छ ।
गत माघमा ४१ दशमलव ३२, फागुनमा २८ दशमलव २४, चैतमा १२ दशमलव ७७, वैशाखमा ७ दशमलव ३३, जेठमा ६ दशमलव ८५ र असारमा १५ दशमलव १४ प्रतिशत राजश्व सङ्कलन भएको तथ्याङ्क छ ।








प्रतिक्रिया राख्नुहोस्