उपयुक्त समयमा निर्वाचनको मिति घोषणा हुन्छ: सञ्चारमन्त्री कार्की
काठमाडौँ । सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजनाका लागि युरोपियन युनियनबाट प्राप्त हुने करिब १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले गुणस्तरीय प्रविधि तथा व्यावसायिक शिक्षा र तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब ९५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक संरचना निर्माण लगायतका कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योग दर्ताका लागि सरकारले बाधा अड्काउ फुकाऊ आदेश जारी गरी म्याद थपका लागि बाटो खुल्ला गर्ने निर्णय गरेको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको बारपाकमा भूकम्प स्मृति पार्क निर्माणका लागि विभिन्न १५ जनाको नाममा रहेको करिब ७ रोपनी जग्गा प्राप्त गरी त्यसको सट्टाभर्ना दिनका लागि सहमति प्रदान गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई मनोनयन गर्नुका साथै सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सदस्यमा डा. प्रकाशराज रेग्मी र डा. नविनचन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा सङ्घ र प्रदेश निर्वाचनसम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले निर्वाचन आयोगले मङ्सिर २ गते शुक्रवारका लागि निर्वाचनको मिति तय गर्न सरकारलाई सिफारिस गरेको जानकारी दिनुहुँदै त्यस बारेमा छलफल गरेर सरकारले उपयुक्त समयमा निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्