तपाईँ सुन्दै हुनुहुन्छः

कल सेन्टरका नाममा भएको अवैध कारोबारको जालो खोज्न प्रहरीले विशेष अनुसन्धान गर्ने 

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा आइतबार कल सेन्टरका नाममा भएको अवैध कारोबारको जालो खोज्न नेपाल प्रहरीले विशेष अनुसन्धान गर्ने भएको छ ।

ब्लु स्काई विजेनश सोलुसन प्रालिको नाममा रहेको कल सेन्टर नामक यो संस्थाबाट २ सय ५८ जना कर्मचारीले दैनिक करोडौँको कारोबार गरेको भेटिए पनि उनीहरूलाई दिने सेवासुविधा कसरी दिइएको थियो भन्ने खुलेको छैन ।

भारतीय र चिनियाँ नागरिकको लगानीमा सञ्चालित रहेको यो कार्यालयबाट दैनिक सयौँ सर्वसाधारणलाई एप्लिकेसनको प्रयोग गरी गैरकानूनी कारोबार, ठगी तथा ब्ल्याक मेलिङ्ग हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

त्यहाँ काम गर्ने २ सय ५८ युवायुवती नियन्त्रणमा लिएसँगै दैनिक करोडभन्दा बढी ट्रान्जेक्सन हुने गरेको खुलेपनि यसको जालो पत्ता लगाउन प्रहरीले चासो दिएको हो ।  आइतबार पक्राउ परेकामध्ये मुख्य नाइके भारतीय नागरिक निरञ्जन कुमार हुन् । उनीसहित पक्राउ परेका अन्य ८ जना नेपालीलाई पनि जिल्ला अदालत रुपन्देहीमा पेस गरेर अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख ठगबहादुर केसीले बताउनुभयो ।

निरञ्जन कुमारले मुख्य कार्यालय चीनमा रहेको बताएकाले पनि प्रहरीले यसको जालो खोज्न सुरु गरेको हो । रुपन्देहीमा खोलिएको उक्त कल सेन्टरबाट भारतीय नागरिकलाई ठगी गरेको पाइए पनि त्यस्तो ठगीबाट कति रकम सङ्कलन भयो र उक्त रकम कसले लिएको छ भन्ने पत्ता लगाउन कठिन छ । धेरै कर्मचारी रहे पनि उनीहरूको तलब बापतको रकमबाहेक अन्य कति रकम दैनिक उठ्यो भन्नेसमेत पत्ता लाग्न सकेको छैन । पक्राउ परेकाहरूले प्रहरीलाई चिनियाँको लगानीमा आफूहरूले काम गरेको बताए पनि उक्त कल सेन्टरको मुखिया को हो भन्ने पत्ता लाग्न सकेको छैन ।

प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछका क्रममा रुपन्देहीमा सहायक कार्यालयमात्रै भएको तथ्य भेटिएकाले यसको मुख्य कार्यालय खोजीका लागि सो कार्यालयबाट नियन्त्रणका लिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्नका लागि सीआईबीको टोलीले थप अनुसन्धान गर्ने भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button