तीन किशोरीको अकल्पनीय मृत्युले शोकमा डुब्यो कचनकवलको दलेगाउँ

भद्रपुर, झापा।सीमावर्ती झापाको कचनकवल गाउँपालिका–५ स्थित दलेगाउँ यतिखेर पूरै शोकमा डुबेको छ । आइतबार बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ ।
स्थानीय सुनकोशी चिया बगानमा मजदूरी गर्दै आएका १७ वर्षीया अञ्जली, १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेश एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनापछि गाउँका कसैको पनि आँखा ओभाएका छैनन् । ‘कसैले कल्पनै गर्न नसक्ने दुःखदायी घटना भयो’, स्थानीय सीताराम गणेश भन्नुहुन्छ– ‘परिवार मात्र होइन, पूरै गाउँ शोकमा डुबेको छ, हिजोदेखि कसैको घरमा चुलो जलेको छैन ।’
कल्कलाउँदा उमेरका आफ्ना छोरीहरू गुमाएपछि तीनवटै परिवारका कोही पनि सदस्य सम्हालिन सकेका छैनन् । मजदूरी गर्ने ती परिवारका साना झुप्रा घर वरिपरि आँखा रसाएका स्थानीयको भीड लागेको छ ।
धान रोप्न जाने भनेर शनिबार बिहानदेखि हिँडेका तीनैजना वयरको रुखको हाँगामा भुण्डिएको अवस्थामा आइतबार बिहान मृत फेला परेका थिए । उनीहरू एकै पटक झुन्डिनुको कारणबारे गहिरो अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।
तीनै जनाको शवलाई धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा शव परीक्षणका लागि पठाइएको छ भने घटनास्थलमा दुईवटा मोबाइल फेला परेको पनि उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्