तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध दुर्व्यसनविरुद्ध सामूहिक प्रयास

काठमाडौँ । समाजमा बढ्दै गएको लागूपदार्थ दुर्व्यसनविरुद्ध सामाजिक स्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । 

मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् । 

ढिला नगरी लागुऔषध दुर्व्यसन अन्त्यका लागि सामाजिक स्तरबाट प्रभावकारी अभियान चलाउनुपर्ने खाँचो रहेको कार्यक्रमका वक्ताको भनाइ थियो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री मोहनसिंह राठौरले राजधानी मात्र नभई गाउँ गाउँमा लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 

गोकर्णेश्वर नगरपालिकाका–नगर प्रमुख दीपक रिसालले संस्कार भुल्दै गएकाले समाजमा समस्या आउन थालेको बताउनुभयो ।

“हाम्रा सांस्कृतिक पर्वमा विचलन आएको छ, ठिक बेठीक छुट्याउन नसकेकै कारण लागु औषधको दुर्व्यसन जस्तो कुलतमा युवा पुस्ताको आकर्षण बढेको छ, नगरपालिकाले विद्यालयमा गएर चेतना विस्तारमा सक्रिय रहने योजना बनाएको छ”, उहाँले भन्नुभयो ।  

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले लागुऔषध दुर्व्यसनीको सङ्ख्या डढेलो जस्तै फैलिँदै गरेको परिवेशमा घरघरबाट लागुऔषध दुर्व्यसनविरुद्ध चेतना फैलाउनुपर्ने बताउनुभयो । यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

शान्ति समाजका पूर्व सभापति उत्तम पुडासैनीले लागुऔषध दुर्व्यसन अन्त्यका लागि सामूहिक प्रयासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसविरुद्ध सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा समाजका केन्द्रीय महासचिव रामकृष्ण बराल, नेपाल किसान सङ्घका केन्द्रीय सदस्य जीवन्ती अर्याल, गान्धी आदर्श माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष डा.गणेशराज अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष हरिभक्त पुडासैनी र वडा नं ६ का अध्यक्ष प्रकाश फुयाँलले दुर्व्यसनविरुद्ध ऐक्यबद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै तेज विनायक मावि सञ्चालक समितिका अध्यक्ष विदुर ढुङ्गाना, समाजका काठमाडौँ अध्यक्ष भगवान् पुडासैनी, सेलिब्रेशन को–एडका संस्थापक आचार्य महेन्द्र भट्टराई, नेप्लिज कम्युनिटी एसोसिएसन अस्ट्रेलियामा अस्ट्रेलियाका  अध्यक्ष मधुसुदन पुडासैनी, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष डिएन सिवाकोटी, लिबर्टी एकेडेमीका प्रधानाध्यापक ओमप्रसाद ढकाललगायत वक्ताले लागुऔषध दुर्व्यसनविरुद्ध सामूहिक प्रयासको खाँचोमाथि चर्चा गर्नुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button