तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकलाई टोलमै सामाजिक सुरक्षा भत्ता 

तनहुँ । सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित गर्ने भन्दै बैङ्कमार्फत भुक्तान गर्दा ज्येष्ठ नागरिकलाई थप समस्या भएपछि तनहुँको एक गाउँपालिकाले टोल टोलमै पुगेर भत्ता वितरण गर्न थालेको छ । 

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ज्येष्ठ नागरिकको सुविधालाई व्यवस्थित गर्न भन्दै टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको हो । 

गाउँपालिकाले सोमबारदेखि वडा नं. ५ को लाब्दी भटिश्वरा गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यको शुरुवात गरेको जानकारी दिएको छ । 

कमजोर शारीरिक अवस्थाका कारण बैङ्कसम्म पुग्न नसक्ने लाभग्राहीहरू भने पायक पर्ने टोलमै सुविधा पाएपछि खुशी भएका छन् ।  

गाउँपालिका अध्यक्षले निर्वाचनका बेला सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे बमोजिम गाउँमै पुगेर भत्ता प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिनुभयो । 

नवनिर्वाचित जनप्रतिनिधिले ल्याएको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा घरघरै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उल्लेख गरिएको छ ।  साही बमोजिम पालिकाले आर्थिक वर्ष २०७८÷०७९ को वैशाखदेखि असारसम्मको वितरण गर्न बाँकी सामाजिक सुरक्षा भत्ता घरमा पुर्‍याउन थालेको हो । 

आफूले चुनावमा जनता सामु गरेका वाचा पुरा गर्न गाउँमै पुगेर वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । 

अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूले गाउँ गाउँबाट आएर बजारमा रहेको बैङ्कको ढोकामा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता रहेकोले घरघरमै सेवा पुर्‍याउने अभ्यासको थालनी गरिएको अध्यक्ष चुमानले बताउनुभयो  । 

लाभग्राहीको बैङ्क खातामा जम्मा भएको रकम बैङ्कका कर्मचारीसहित जनप्रतिनिधिहरूले सम्बन्धित व्यक्तिलाई बुझाउने गरेका छन् । उनीहरूलाई नगरपालिकाले सवारी साधन र ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले आवश्यक सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button