तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत वितरण

दमौली । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ ।

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो ।

कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरिएको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणा पत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको अधिकारीले बताउनुभयो ।

कार्यालयले जिल्लाका १० वटै पालिकामार्फत कोरोनाबाट मृत्यु हुनेको विवरणसहित निवेदन माग गरेको थियो । उहाँका अनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्रै राहत रकम वितरण गरिएको छ ।

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजिटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेश गर्नुपर्ने प्रावधान थियो ।

तनहुँमा कोभिड–१९ बाट ६४ महिला र ९७ पुरुषसहित १६१ को मृत्यु भएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button