तपाईँ सुन्दै हुनुहुन्छः

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । 

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण क्षेत्र अर्थात् भारततर्फ सरेका कारण मनसुन ब्रेक भएकाले पानी नपर्दा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा बढी गर्मी महसुस भएको छ । 

उहाँका अनुसार मङ्गलबारदेखि उक्त रेखामाथि अर्थात् नेपालतिर सर्ने भएकाले बिस्तारै पानी पर्ने क्रम सुरु भई गर्मी कम हुने अवस्था रहेको छ । 

विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानमा  र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button