सोक्लामा रक क्लाइम्बिङ

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा पर्ने तामाङ गाउँ सोक्लामा रक क्लाइम्बिङ तथा हाइकिङ रुट सुरु गरिएको छ ।
साहसिक पर्यटनको लागि सोक्लाश्वरी पर्यटन विकास समाजले रक क्लाइम्बिङ तथा हाइकिङ रुट सञ्चालनको लागि गुरु योजना तयार गरेको समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताउनुभयो ।
भीमेश्वर नगरपालिका वडा नम्बर २ को खेलाप, सोक्ला र चक्पासँग जोडिएको तीन वटा पहरामा मिनी रक क्लाम्विङ, एडभान्स र हाइ लेवलको रक क्लाइम्बिङ गर्न सकिने अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पाले बताउनुभयो ।

सोक्लाको भौगोलीक अवस्थिति र रकको कारण यो क्षेत्र रक क्लाइम्बिङ तथा हाइकिङ रुट सञ्चालनको लागि उपयुक्त रहेको र यहाँ विदेशीहरूले विशेष रुपमा रमाइलो गर्न सक्ने शेर्पाले बताउनुभयो ।
सोक्ला क्षेत्रकै गुम डाँडाको डिलबाट प्याराग्लाइडिङ गरेर तामाकोसी किनारामा ल्यान्डिङ बेसक्याम्प बनाउने, एग्रो टुरिजमसँगै जिप लाइन र बञ्जी जम्प निर्माण गरेर विदेशी पाहुना भित्र्याउन सकिने शेर्पाको भनाई छ ।
भीमेश्वर नगरका विपत् व्यवस्थापन टिमले सोक्लामा रक क्लाइम्बिङको परिक्षण गरेको थियो । गाइड तथा प्रशिक्षक थिर बहादुर खड्का र शिव खड्काको टिमले सफलता पूर्वक रक क्लाइम्बिङ परिक्षण गरेको समाजका अध्यक्ष पाख्रिनले बताउनुभयो ।
फ्रान्सका १५ जनाको टिमले समेत सोक्ला गाउँको रक क्लाइम्बिङ क्षेत्रको भ्रमण गरेको र यो क्षेत्रको पर्यटन प्रवर्धनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष पाख्रिन बताउनुहुन्छ ।
फ्रेन्च नागरिकहरू दोलखा, दुङगल, गंङरास, डिलढुंगा, चक्पा हुँदै सोक्ला पुगेका थिए । उनीहरूले सोक्लामा बोम्बो (झाँक्री) संस्कृतिको अवलोकन गरेको र रक क्लाइम्बिङ रुटको भ्रमण गरेको समाजका अध्यक्ष पाख्रिनले बताउनुभयो ।
भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ सोक्ला गाँउमा रक क्लाम्विङ तथा हाइकिङ रुट सञ्चालनको लागि वडाको तर्फबाट सक्दा सहयोग हुने बताउनुहुन्छ । “यो क्षेत्र पर्यटनको लागि महत्त्वपूर्ण छ त्यसैले यहाँ पर्यटकलाई आकर्षित गर्न विभिन्न काम गर्नुपर्छ”, वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्