तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल आयल निगमलाई ७ अर्ब रुपैयाँ ऋण दिने सरकारको निर्णय (भिडियो)

काठमाडौँ । सरकारले इन्डियन आयल कर्पोरेसनलाई बक्यौता भुक्तानी दिन नेपाल आयल निगमलाई ७ अर्ब रुपैयाँ ऋण दिने निर्णय गरेको छ । 

असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन रकम अपुग भएकाले सरकारले निगम लाई ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको बताउनुभयो । 

यस्तै, सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर बापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख रुपैयाँ अनुदान स्वरूप नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

सञ्चारमन्त्री कार्कीले सरकारले व्यापार घाटा न्यूनीकरणका लागि विभिन्न १० बस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौ १४ गते सम्म निरन्तरता दिनुका साथै बर्डफ्लु प्रभावित र नियन्त्रणमा खटिएकालाई प्रोत्साहन सुविधा प्रदान गर्ने मापदण्ड स्वीकृत गरेको पनि बताउनुभयो ।  

उहाँले मन्त्रिपरिषद् बैठकले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप गर्ने, जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट सङ्कलित रकम फुकुवा गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभयो । 

सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परी दिवङ्गत हुनुभएका इन्जिनियर सतिसकुमार गोईत र सवारी चालक राधाकृष्ण थापामगरको परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच÷पाँच लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो । 

यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा पर्वतका प्रदीप शर्मा पौडेललाई नियुक्त गर्नुसँगै राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक (भिडियो):

प्रतिक्रिया राख्नुहोस्

Back to top button