बुटवलमै किशोरी बालविवाहको डरलाग्दो आँकडा

रुपन्देही । लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवल उपमहानगरपालिकाभित्रका केही वडामा गरिएको सर्वेक्षणमा किशोरी बालविवाहको आश्चर्यजनक आँकडा देखिएको छ । यसरी बालविवाह गर्नेहरूको उमेर १२ देखि १८ वर्षको छ । अझै डरलाग्दो अवस्था त यसरी विवाह भएका ती किशोरीहरू कम उमेरमै ३ जनासम्म बच्चाको आमा बनेका छन् । उनीहरूले जन्माएका अधिकांश बच्चाहरू विभिन्न रोगले ग्रसित भेटिएका छन् ।
बालअधिकारको क्षेत्रमा काम गर्दै आएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले गरेको सर्वेक्षणअनुसार बुटवल उपमहानगरपालिका भित्रका ५ वटा वडाका केही क्षेत्रमा गरिएको सर्वेक्षणमा २ सय ७५ जना किशोरीको बालविवाह भएको छ । गरिबी र अशिक्षाकै कारण विकसित सहरमा समेत बालविवाहको डरलाग्दो तथ्याङ्क बाहिर आएको छ । यो संस्थाको सर्वेक्षणमा भेटिएका यी किशोरीमध्ये एकले केही दिनअघि आत्महत्या गरेकी छन् । अहिले २७४ जना बालविवाह गरेका किशोरीलाई संरक्षणमा राखिएको सेतो गुराँसले जनाएको छ ।
बुटवलका वडा नं २, ५, ६, ११ र १७ वडाका केही क्षेत्रहरूमा गरिएको सर्वेक्षणमा मात्र २ सय ७५ जना बालविवाह गरेका किशोरीहरू फेला परेको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यक्रम संयोजक अर्जुन तामाङले बताउनुभयो ।
यसअघि गरिएको सर्वेक्षणमा ११ वर्षको उमेरमा २ जना, १२ वर्षको उमेरमा विवाह भएका २ जना, १३ वर्षमा १४ जना, १४ वर्षमा ४१ जना, १५ वर्षमा ६१ जना, १६ वर्षमा ५७ जना र १७ वर्षमा १६ जना गरी १ सय ९३ जना बालविवाह भएका किशोरीहरू बुटवलका ३ वटा वडामा मात्र भेटिएका थिए । अहिले थप २ वडामा समेत सर्वेक्षण गर्दा २७५ जना पुगेका हुन् ।
यसरी भेटिएका अधिकांश किशोरी आमा बनिसकेका छन् । ती किशोरीले एउटादेखि ३ वटासम्म बच्चा जन्माएको भेटिएको छ । १२ वर्षमा एउटा सन्तान हुने १ जना, १६ वर्षमा एउटा सन्तान हुने २ जना, १७ वर्षमा एउटा सन्तान हुने ११ जना, २ वटा सन्तान हुने १ जना, १८ वर्षमा एक सन्तान हुने ९१ जना, दुई वटा हुने ३८ जना र ३ वटा हुने २ जना किशोरीहरू रहेका छन् । यसरी बालविवाह हुनेमा बुटवलका मैनाबगर, मजुवा, बुद्धनगर, दुर्गानगर, हात्तिसुढ, रानीगञ्ज, प्रगतिनगर, सुन्दरनगर, टप मजुवा, सत्यवती विनापाते, नियमचोक, हाटबजारलगायतका स्थानका किशोरीहरू रहेका छन् । यी बस्ती बुटवलका सुकुम्वासी बाहुल्यता र मधेसी समुदायका बस्ती रहेका क्षेत्र पर्दछन् ।
सेतो गुराँसका कार्यक्रम संयोजक तामाङका अनुसार यसरी कम उमेरमा आमा बनेका किशोरीहरूले जन्माएका बच्चाको जन्म दर्ता नभएकाले उनीहरूले स्थानीय सरकारबाट पाउने पोषण भत्तालगायतका विभिन्न सुविधाहरू पाउन नसकेको, स्वास्थ्य संस्थामा परीक्षणका लागि जान नसकेको र सरकारी अभिलेखमा उल्लेख हुन नसकेका हुन् ।
यसअघि जीवनका लागि सिकाइ परियोजनाले सन् २०२० को जनवरीमा १ सय ४५ र सन् २०२१ को जनवरीमा १ सय ५४ गरी कुल २ सय ५६ जना किशोरीहरू विद्यालय बाहिर रहेको भेट्टाएको थियो । तीमध्ये १ सय ९३ जना किशोरी बालविवाह भएकै कारण विद्यालय बाहिर भएको पुष्टि भएपछि बुटवल सहरभित्र पनि बालविवाहको अवस्था नाजुक देखिएको सेतो गुराँसका कार्यकारी निर्देशक सुमित्रा शर्माले बताउनुभयो ।
पढ्न नपाएका किशोरीहरुसंग संवादको क्रममा उनीहरूले छिटो विवाह गर्दा पढ्न नपाएको बताएपछि सबैको अवस्था बुझ्दा बालविवाहको आश्चर्यजनक आँकडा भेटिएको शर्माको भनाइ छ । बढ्दो गरिबी, बसाइँ–सराइ, विवाह भएपछि जीवन सुरक्षित मान्ने कारणले पनि बालविवाह धेरै हुने गरेको शर्माको भनाइ छ । त्यो समयमा यो संस्थाले तयार गरेका सबै प्रतिवेदन स्थानीय सरकारलाई तीन पुस्ते नामावलीसमेत बुझाएको थियो । तर अहिले जनप्रतिनिधि फेरिएका छन् ।
सेतो गुराँसले अहिले यसरी बालविवाहमा परेका सबै किशोरीलाई राखेर विशेष कक्षा सञ्चालन गर्न थालेको छ । यो कक्षाका बालविवाह गर्दा आउने समस्या, यसले स्वास्थ्यमा पार्ने प्रभाव, कम उमेर जन्मने बच्चामा लाग्ने रोगका विषयमा सचेतना दिइने गरिन्छ भने उनीहरूलाई सरोकारवाला निकाय वडा कार्यालय, इलाका प्रहरी कार्यालय, सहरी स्वास्थ्य कार्यालयका प्रतिनिधि राखेर प्रशिक्षण गराइएको सेतो गुराँसले जनाएको छ ।
एड्भोकेसी फोरमका लुम्बिनी संयोजक अधिवक्ता इन्दिरा आचार्यले छोरी शिक्षाकै कमी भएका कारण किशोरीको बालविवाह नरोकिएको बताउँदै भन्नुभयो–‘पैतृक सम्पत्तिमाथि छोरीको अधिकार नहुँदा यस्तो बढी भएको हो भने अभिभावक पनि छोरीलाई छिटो विवाह गरिदिएर उम्कने चिन्तनबाट ग्रसित भएकाले कमी आएका छैन ।’ आचार्यले भन्नुभयो–‘शहर बजार क्षेत्रमा कुरीति हुँदै भनेर हुँदैन, बजारमा बसाई सरेर आउने सबै गाउँबाट नै हो, बजारमा बसेपनि छोरी शिक्षा अभाव भएका परिवारमा यस्ता विषय बढी भएका छन्, स्थानीय सरकार र सरोकारवाला निकायले बढी चासो राख्नुपर्दछ र सबैको समन्वयमा यसलाई रोक्ने योजना बनाउनुपर्दछ ।’
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले यो तथ्याङ्कले उपमहानगरको ध्यान तानेको बताउनुभयो । ‘गम्भीर विषय बाहिर आएको छ, उपमहानगरले यसका सरोकारवाला पक्षलाई राखेर तत्काल छलफल चलाउँछ र न्यूनीकरणका हरेक विधि अवलम्बन गर्न अभियान चलाउँछ’– उपप्रमुख अर्यालले भन्नुभयो । बालविवाह रोक्नु सबैको दायित्व रहेको भन्दै त्यस्तो सूचना भेटिए सबै बुटवलवासीले सरोकारवालालाई तत्काल खबर गर्न उहाँले आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्