तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा पूर्ण खोप जिल्ला घोषणा गरियो 

डडेल्धुरा । डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले एक औपचारिक कार्यक्रमका बीच आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । 

मन्त्री बोहराले जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्दै जिल्ला समन्वय समितिका डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख डा.आशुतोष श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको छ । 

जिल्लाका १६ देखि २३ महिनासम्मका २ हजार २४ बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि डडेलधुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका सात स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेका छन् ।

घोषणा कार्यक्रममा मन्त्री बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका लागि योगदान पुगाउने सबैलाई धन्यवाद  दिनुभएको छ । मन्त्री बोहराले प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि उपचार सेवामा सबैको पहुँच पुगाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको छ । 

यस्तै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणापछि पनि त्यसको दिगोपनाका लागि सक्रिय भएर काम गर्न मन्त्री बोहराले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्न भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा जिल्लाका स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र सात वटै पालिकालाई सम्मान पनि गरिएको थियो ।

जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि सात वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको थियो । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षण गर्दै १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको अनुगमनसमेत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button